इटहरी | नेपाल तरुण दल, प्रदेशसभा क्षेत्र नं. २(क) कार्य समितिको आयोजनामा इटहरी–धरान राजमार्गको डिभाइडर क्षेत्रमा घाँस काट्ने सरसफाइ अभियान सुरु गरिएको छ।
इटहरीदेखि तरहरा सम्मको बीचभागमा रहेको डिभाइडरमा बाक्लो र अग्लो घाँस उम्रिएर सडक पार गर्ने यात्रु तथा सवारीसाधनका लागि असहज र असुरक्षित स्थिति सिर्जना भएको जनगुनासो आएपछि "आपगाछि देखि हडगडासम्म" सरसफाइ अभियान सुरु गरिएको हो।
प्रदेश समिति अध्यक्ष विवश बिष्टका अनुसार यस अभियानले समुदायमा स्वस्फूर्त सेवा भावना र वातावरणप्रतिको उत्तरदायित्व झल्काउँछ । सहभागीहरूले डिभाइडरमा उम्रिएको झारपात हटाउने, मलखाद हाल्ने, गमलामा बिरुवा राख्ने जस्ता कार्यमा सक्रिय सहभागिता जनाएका थिए।
नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले राजमार्गलाई सफा, सुरक्षित र सौन्दर्ययुक्त बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।
अभियानमा वुल्स एलेभेन क्लबको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयस्तरमा यस्ता अभियान निरन्तर भइरहेमा सफाइप्रतिको जनचेतना वृद्धि हुने, नागरिक सहभागिता बढ्ने र वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा नेपाल तरुण दल प्रदेशसभा २(क) कार्य समिति, वडा, नगरपालिका, जिल्ला र प्रदेशस्तरका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
