इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ साउने बस्तीमा पत्नीले घरायसी विवादका क्रममा श्रीमानलाई छुरा प्रहार गरेकी छन्। आइतबार राति करिब ९ः३० बजे सरिता राईले आफ्ना श्रीमान ५० वर्षीय वीर बहादुर राईमाथि तरकारी काट्ने छुरा प्रहार गर्दा घाइते भएका हुन्। छुरा प्रहारबाट वीर बहादुरको दाहिने हातको पञ्जा, छाती र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ३१ वर्षीया सरिता राईलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनाको कारण घरायसी वादविवाद देखिएको प्रहरीले जनाएको छ।