इटहरी स्  कुनै समय झापाका गाउँघरमा जताततै देखिने जुटखेती अहिले घट्दै गएको छ। खेती घटेसँगै जुटको सुकेको डाँठ ९सन्ठी० समेत पाउन मुस्किल हुन थालेको छ। यसको प्रत्यक्ष असर राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदायको परम्परागत हुकाहुकी पर्वमा देखिन थालेको छ।

तिहारको लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वमा सन्ठीको विशेष महत्त्व छ। सन्ठीको मुठो बनाएर पूजा गर्ने र त्यसमा आगो सल्काएर हुकाहुकी खेल्ने परम्परा रहे पनि जुटखेती घट्दै जाँदा आवश्यक सामग्री जुटाउनै कठिन हुन थालेको हो। बिर्तामोड–९ गरामनीमा कात्तिक २१ गते आयोजना हुन लागेको सामूहिक हुकाहुकी कार्यक्रमका लागि आयोजकले गौरीगन्जबाट एक ट्र्याक्टर सन्ठी ल्याउनुपरेको छ। बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा खोज्दा पनि पर्याप्त सन्ठी नभेटिएपछि टाढाबाट ल्याउनुपरेको राजवंशी युवा समितिका अध्यक्ष विश्वदीप राजवंशीले बताए। सन्ठीको अभाव कति चर्किएको छ भन्ने उदाहरण स्थानीय सकुन राजवंशीको अनुभवले पनि देखाउँछ। बिर्तामोड–९ की उनले एक मुठा सन्ठीका लागि सय रुपैयाँ खर्चिनुपर्‍यो। लक्ष्मीपूजाका दिन हुकाहुकी खेल्न सन्ठी अनिवार्य भएकाले खोज्दै हिँड्दा बिर्ताबजारमा हटिया लागेको दिन खरिद गर्न पाएको उनले बताइन्। ‘गाउँघरमा पहिले जताततै पाइने सन्ठी अहिले खोज्दा पनि पाउन गाह्रो छ,’ उनले भनिन्।

कुनै समय झापाको प्रमुख नगदेबालीका रूपमा रहेको जुटखेती अहिले सीमित क्षेत्रमा खुम्चिएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार यस वर्ष जिल्लामा करिब पाँच सय २५ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको छ। जुटखेतीको घट्दो क्षेत्रफलले किसानको आम्दानीमा मात्र नभई समुदायको परम्परागत जीवनशैली र संस्कृतिमा समेत प्रभाव पार्न थालेको छ। बाह्रदशी गाउँपालिका–१ का पूर्ववडाध्यक्ष शम्भुसिंह राजवंशीका अनुसार यस वर्ष वडामा पाँच बिघा क्षेत्रफलमा मात्रै जुटखेती गरिएको छ। उचित मूल्य नपाउनु र उत्पादन प्रक्रिया झन्झटिलो हुनु यसको प्रमुख कारण रहेको उनको भनाइ छ। ‘पाटा कुहाउन खोला वा पोखरी चाहिन्छ, जलाशय हराउँदै गए,’ उनले भने, ‘बीउ छरेदेखि तयार पाटा सुकाउँदासम्म धेरै मिहिनेत गर्नुपर्ने भएकाले किसानले खेती छाड्दै गएका हुन्।’उनका अनुसार पहिले बिघौँबिघा जमिनमा जुटखेती गर्ने किसान अहिले घरायसी आवश्यकताका लागि थोरै क्षेत्रफलमा मात्रै खेती गर्छन्। बाह्रदशी–१ का किसान रुपलाल राजवंशीले पनि गत वर्ष एक कठ्ठामा जुटखेती गरेका थिए। व्यावसायिक उत्पादनभन्दा पनि सन्ठीको आवश्यकताले खेती गर्न थालेको उनले बताए। ‘पाटाभन्दा पनि सन्ठीकै लागि खेती गर्ने गरेको छु,’ उनले भने।

सन्ठीसँग जोडिएको संस्कृति

जुटको सुकेको डाँठ आदिवासी समुदायका लागि हुकाहुकी पर्वमा प्रयोग हुने सामग्री मात्रै होइन, परम्परागत घरायसी जीवनको अभिन्न हिस्सा पनि हो। सन्ठीबाट आगो सल्काउने, गुइँठा बनाउनेलगायत काम हुँदै आएको छ। कुनै समय जुटबाट घरमै डोरी बनाउने चलनसमेत थियो। अहिले भने बजारबाटै डोरी किन्ने गरिएको रुपलाल बताउँछन्। ‘सन्ठी नभई हुँदैन, त्यसैले थोरै भए पनि पाटा लगाउने गरेका छौँ,’ उनले भने। कृषि ज्ञान केन्द्रका अनुसार झापाको कचनकवल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिकाका केही क्षेत्रमा अझै जुटखेती हुँदै आएको छ। तर, खेतीको क्षेत्रफल निरन्तर घट्दै जाँदा त्यसमा आधारित परम्परागत प्रयोग र सांस्कृतिक अभ्याससमेत प्रभावित हुन थालेका छन्। हुकाहुकी पर्वका लागि गौरीगन्जबाट सन्ठी ल्याउनुपर्ने अवस्थाले एउटा सांस्कृतिक परम्परा जोगाउन आवश्यक पर्ने कृषि उत्पादन नै संकटमा पर्दै गएको संकेत गरेको छ। जुटखेतीको संरक्षण र प्रवर्द्धन हुन नसके सन्ठीको अभाव आगामी दिनमा अझ बढ्ने र त्यसको असर समुदायको मौलिक संस्कृतिमा समेत पर्ने देखिन्छ।