इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनको मोरङ्गका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनुगमन गर्नुभएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मा निर्माण भइरहेको नयाँ प्रशासनिक भवनको प्रमुख जिल्ला अधिकारी यादवले अनुगमन गर्नुभएको हो । सोही क्रममा उहाँले वडा नं. १० कै आर.सी.ओ. भवनको पनि अनुगमन गर्नुभएको थियो । गएको जेठ ५ गते एक कार्यक्रमका बीच उक्त प्रशासनिक भवनको शिलान्यास गरिएको थियो । निर्माणाधीन पाँच तले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वर फुट रहने छ । अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवन भ्याट र पिएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण कार्य सुरु भईरहेको पथरी शनिश्चरे नगरपालिकाले जनाएको छ । उक्त भवन आगामी २०८३ चैत्र मसान्त भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अनुगमनमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य मीना कुमारी तामाङ, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. १० का वडा सदस्य वीरबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।


