इटहरी । धनकुटा नगरपालिका वडा नं. १० मा रहको श्री आधारभूत विद्यालयका विद्यार्थीले पोशाक पाएका छन् । विद्यालयमा अध्ययनरत बौदिक अपांगता भएका १८ जना विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष तथा धनकुटा साप्ताहिकका प्रकाशक राजेश्वर बहादुर श्रेष्ठले आमाबाबुको स्मृतिमा पोशाक वितरण गर्नुभएको हो । हालै कोशी प्रदेश सरकार द्धारा अग्रज पत्रकारको रुपमा पुरस्कृत हुनुभएका श्रेष्ठले विद्यार्थीलाई पोशाक अन्तर्गत ट्रयाक सुट वितरण गर्नुभएको हो । उहाँले सामाजिक सेवा अन्तरगत पुरस्कारको रकमबाट पोशाक वितरण गरेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न सहयोगीहरुले सहयोग गर्दै आएका छन् । बौदिक अपांगता भएका विद्यार्थीलाई दाताको सहयोगले निकै राहत मिल्ने गरेको विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताउनु भयो ।