इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१(८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनअन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९।११ प्रतिशत खर्च गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७।४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०।०५ प्रतिशत रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्च गर्न गाउँपालिका सफल भएको अध्यक्ष वनेमको भनाइ छ । गाउँपालिकाको बजेट तथा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न आ–आफ्नो ठाउँमा योगदान गर्ने सबै पक्षलाई अध्यक्ष वनेमले धन्यवादसमेत दिनुभएको छ । यसैगरी, जिल्ला सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले पनि चालु आवमा भएको खर्चको अवस्था सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र लेखा अधिकृत दिनेश भण्डारीले संयुक्त प्रेस नोट प्रकाशित गर्दै चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालनको प्रगति सार्वजनिक गर्नुभएको हो । प्रेस नोटअनुसार बुधबार राति १२ बजे सम्ममा कुल ७७।४४ प्रतिशत रकम खर्च अर्थात भुक्तानी भएको उल्लेख गरिएको छ । उक्त खर्च रकममध्ये चालुतर्फ ८६।०२ प्रतिशत र पुँजीगततर्फ ५९।०८ प्रतिशत रहेको छ । बजेट खर्चमा भएको प्रगतिका लागि भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायीलगायत सबै पक्षलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।


