इटहरी | गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि मान्यता दिँदै विधेयक पारित गरेपछि इटहरीमा रहेको गुरुङ समुदायले बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदसहित विभिन्न गुरुङ संघसंस्थाहरूको संयुक्त आयोजनामा इटहरी चौकमा दीप प्रज्वलन गरिएको हो। ऐतिहासिक निर्णयप्रति खुशी व्यक्त गर्दै आयोजकहरूले यसलाई आदिवासी जनजातिको पहिचान र अधिकारका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ रहेका थिए। कार्यक्रमको अध्यक्षता परिषदका सुनसरी जिल्ला उपाध्यक्ष तथा केन्द्रीय सदस्य दिव्यराज गुरुङले गरेका थिए।
केन्द्रीय सदस्य दिव्यराज गुरुङले गण्डकी प्रदेश सरकारले ढिलै भए पनि जनजातिहरूको लामो समयदेखि उठाउँदै आएको भाषिक अधिकारको मागलाई सम्बोधन गरेको भन्दै धन्यवाद ज्ञापन गरे। उनले अन्य प्रदेशहरूले पनि यसबाट सिक्नुपर्ने बताए।
दीप प्रज्वलन कार्यक्रममा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी, तमुश्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी, इटहरी उपमहानगर समिति, श्री बुद्ध गुम्बा इटहरी तथा तरहरा लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।


