इटहरी, | हेल्पिङ ह्याण्ड्स क्लब इटहरी–५ र राष्ट्रिय युवा संघ नेपाल सुनसरीका युवा फोर्स प्रमुख सबिन श्रेष्ठ तथा समाजसेवी सजन गौर्हाङको संयुक्त पहलमा लागुऔषध दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरिएको छ।

"दुर्व्यसन एउटा रोग हो, सुधार सम्भव छ" भन्ने नाराका साथ आर्थिक रूपमा विपन्न र कमजोर अवस्थामा रहेका दुई युवालाई अभिभावकको अनुमति लिएर मोक्ष पुनर्जीवन केन्द्र र मुक्ति सुधार गृहमा निःशुल्क उपचारका लागि राखिएको आयोजकले जनाएका छन्।

साथै, उनीहरूले इटहरीस्थित निशाहाय बालबालिका सेवा आश्रममा पुगेर सम्पूर्ण बालबालिकासँग खुसी साटासाट गरेका थिए। बालबालिकासँग रमाइलो गर्दै उनीहरूलाई रात्रिकालीन खानपिनको समेत व्यवस्था गरिएको थियो ।

यस्तो प्रकारका सामाजिक कार्यहरूले युवाहरूमाझ सकारात्मक सोच विकास गराउने र समाज सुधारतर्फ प्रेरित गर्ने विश्वास आयोजकको छ।