इटहरी । जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै आज एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको होे । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले ससाना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सानासाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता थियो । नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उहाँले बताउनुभयो ।  स्थानीयवासी भने सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् । अस्पतालको बिहीबार मात्र नगरप्रमुख सुरेन्द्रकुमार उदासले औपचारिक कार्यक्रमसहित उद्घाटन गर्नुभएको थियो ।