इटहरी । पौवादुङमा गाउँपालिका.३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो । उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताउनुभयो । यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उहाँको भनाइ छ । घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । करिब रु १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उहाँले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा(३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताउनुभयो । विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माणमार्फ धारा जडान भएपछि सहज भएको उहाँको भनाइ छ ।