इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले उत्कृष्ट कृषक देखि विद्यार्थीसम्मलाई सम्मान गरेको छ । पालिकाको आर्थिक बर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई सहित बिभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मानपत्र तथा नगदबाट सम्मान गरेको हो । पालिकाले उत्कृष्ट पशुपालक विरेन्द्र राई, उत्कृष्ट सुन्तला कृषक वडा नम्वर ६ का मुकेश राई, उत्कृष्ट शिक्षकहरुमा प्रावि तर्फ सिंहेश्वरी मावि बासिखोराका सुरेश राई, निमावि तर्फ कालिका मावि ओख्रेका इन्द्र राई, मावि तर्फ सुमन उप्रेतीलाई सम्मान गरेको छ । यस्तै, यस बर्षको माध्यामिक विद्यालय परीक्षा (एसईई) मा पालिकामा उत्कृष्ट हुने पञ्चकन्या मावि भुल्केका तीन दशमलव ३९ जिपिए ल्याउने छात्रा मन्दिरा मगर र सिंहेश्वरी मावि बासिखोराका तीन दशमलव २५ जिपिए ल्याउने छात्र विशाल राईलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीमा लेखा अधिकृत इन्द्र कुमार घिमिरे, प्राविधिक असई विश्वमणि राई, रोजगार संयोजक मन्दिरा राई र कार्यालय सहयोगी उत्तम भुसाल पनि सम्मानित हुनु भएको छ । यता निर्माण व्यवसायी तर्फ सजिन निर्माण सेवा र ओख्रेमा रहेको पञ्चकन्या टोल विकास संस्थालाई पनि उत्कृष्ट भएकाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुने सवैको कार्यसम्पादन मुल्यांकनका आधारमा उत्कृष्ट छनौट गरिएको हो । सम्मान पाउने सवैलाई सम्मानपत्र र नगद १० हजार प्रदान गरिएको छ । सम्मानितहरुलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुश प्रशासकीय अधिकृत लगायतले सम्मान गर्नुभयो । सोक्रममा गाउँपालिकाको अन्तिम बर्षको कार्यप्रगतिका बारेमा सार्वजनिक सुनुवाई समेत गरिएको छ । पालिकाको आर्थिक बर्ष २०८१÷०८२ को बजेट अन्तर्गत पूँजीगत तर्फ ७७ दशमलव ८ र चालु तर्फ ८० दशमलव ७७ प्रतिशत गरी समग्रमा ७९ दशमलव ४७ प्रतिशत बित्तिय प्रगती भएको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो ।
