इटहरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय खोलेको छ । श्निबार बिहान एक कार्यक्रमका बीच पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा  संघीय सांसद डिग बहादुर लिम्बु , कोशी प्रदेश सांसद मानबहादुर लिम्बु र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन पछि मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा  पूर्व संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बुले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने भन्दै खेलको माध्यमबाट नेपाल जस्तो सुन्दर देशका खेलाडीहरूले संसारलाई जित्न सकिने अवस्था रहेको विश्वास दिलाउनुभयो । उहाँले पछिल्ला दिनहरूमा विभिन्न खेलका विधाहरूमा सहभागी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल रहेको प्रसङ्ग कोट्याउँदै भावी पिंढीले थप उत्साहका साथ खेल क्षमता विकासका लागि लाग्नु पर्ने कुरामा जोड दिनुभयो । सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडी उत्पादन र क्षमता विकास गराउन हरेक वर्ष पथरी शनिश्चरे नगरपालिकाले खेलकुद महोत्सव अन्तर्गत विभिन्न खेलकुदका विधाहरु  आयोजना गर्दै आएको चर्चा गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले नगरभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्दै पथरी ११ एफसीले पु¥याएको योगदान प्रति पनि प्रशंसा गर्नुभयो । पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीम कुमार राईले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता पथरी ११ एफसीका अध्यक्ष सुमन विकले गर्नु भएको थियो ।