इटहरी | इटहरी लेडी जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
हरेक वर्ष झैं यस वर्ष पनि असार २० गतेदेखि सुरु भएको जेसीज सप्ताह अन्तर्गत विभिन्न सामाजिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिएका थिए।
कार्यक्रमको समापन इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
सप्ताहभर आयोजित कार्यक्रमहरूमा जेसीज सामुदायिक भवनको शिलान्यास, 'पढाउ अभियान' अन्तर्गत छात्रवृत्ति तथा स्टेशनरी वितरण समारोह, महिला फुटसल प्रतियोगिता, पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर, अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित सचेतना कार्यक्रम, माया घरमा खाना खुवाउने कार्यक्रम, महिला स्कुटर र्याली तथा स्लो स्कुटर दौड प्रतियोगिता जस्ता गतिविधिहरू समावेश थिए।
समापनको दिन कवि नवराज पराजुलीको कविता कन्सर्ट विशेष आकर्षण बन्यो। उनले आफ्ना चर्चित कविता सुनाएर दर्शकको मन जितेका थिए। कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता टोलीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
साहित्यिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने र यस्तो खालका कार्यक्रमले सोच बदल्न सहयोग गर्ने भएकाले जेसिजको गतिविधिमा यस्ता कार्यक्रम पनि समावेश गरिएको इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बरालले बताउनुभयो ।
समापन कार्यक्रममा नगरप्रमुख पौडेलले इटहरी जेसीजले समाज रूपान्तरणमा पुर्याउँदै आएको रचनात्मक र ऊर्जाशील योगदानप्रति खुसी व्यक्त गर्नुभयो।
कार्यक्रमको मूल संयोजक रूविना थापा, संयोजक यमुना बुढाथोकी र सह-संयोजक ममता पराजुली रहनुभएको थियो।
कार्यक्रममा लेडी जेसीजका सदस्यहरू, जेसीजका पूर्वअध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
