सुन्दरहरैंचा | पारिवारिक सद्भाव, आपसी समझदारी र सामाजिक योगदानका प्रतीक १२ दम्पतीलाई सुन्दरहरैंचा नगरपालिकाले ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको छ।
नगरपालिकाका १२ वटै वडाबाट एक-एक उत्कृष्ट दम्पती छनोट गरी आइतबार आयोजित विशेष समारोहमा उनीहरूलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार संयुक्त परिवारमा बसेर आमा–बुबा वा सासू–ससुराको श्रद्धायुक्त सेवा गर्दै आएका दम्पतीहरूको उदाहरणीय योगदानको कदर स्वरूप यो सम्मान दिइएको हो।
> "पारिवारिक मूल्य, परम्परा र मेलमिलापको संरक्षणमा समर्पित जोडीहरूलाई प्रेरणा दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो," — मेयर गुरागाईंले भने।
छनोट प्रक्रिया पारदर्शी बनाउन नगरपालिकाले पूर्वनिर्धारित सामाजिक तथा पारिवारिक मूल्यांकन संकेतकहरू तयार गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार दीर्घकालीन वैवाहिक जीवन, समाजमा योगदान, आपसी सम्बन्धको सुदृढता आदि आधारमा जोडीहरूको छनोट गरिएको हो।
यसका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो। कुल ४८ दम्पतीले आवेदन दिए पनि मापदण्ड पुरा गरेका मध्येबाट उत्कृष्ट १२ दम्पती अन्तिम सूचीमा परेका हुन्।
छनोटका लागि निम्न मापदण्डहरू वैवाहिक सम्बन्ध कम्तीमा १० वर्ष भएको,दुवै जनाको नेपाली नागरिकता र विवाह दर्ता भएको,स्थायी रूपमा सुन्दरहरैंचामा बसोबास गरेको,संयुक्त परिवारमा आमा/बुबा वा सासू/ससुरासँग बसेको,सन्तान भएमा जन्मदर्ता र नागरिकता लिएको,विद्यालय उमेर पुगेका सन्तान विद्यालयमा भर्ना गराएको,वैदेशिक रोजगारीमा दुई वर्षभन्दा बढी समय बिताएको नरहेको ,अदालत वा प्रहरीमा वैवाहिक झगडाको उजुरी नरहेको छ
उपमेयर अकली चौधरीका अनुसार यो सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ। “यो सम्मानले पारिवारिक समझदारी र प्रेमको आदर्श स्थापित गर्नेछ,” — चौधरीले भनिन्।
नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
