तरहरा | ‘स्वास्थ्यका लागि दौडौँ, समुदायका लागि जोडौँ’ भन्ने मूल नाराका साथ नियमित रूपमा सञ्चालन हुँदै आएको लोकप्रिय दौड कार्यक्रम ‘तरहरा रन’ ले हालै आफ्नो १०० औं हप्ता सफलता र उत्साहका साथ सम्पन्न गरेको छ। निरन्तर प्रयास, समुदायको साथ, र स्वास्थ्यप्रेमीहरूको सहभागिताले यो दौड कार्यक्रम आज तरहराको परिचय र गौरवको विषय बनेको छ।

शनिबार बिहानको शीतल वातावरणमा आयोजित विशेष कार्यक्रमले यो ऐतिहासिक अवसरलाई अझ उत्सवमय र अर्थपूर्ण बनायो। कार्यक्रमका दौरान ईटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, वडा नं. २ की वडाध्यक्ष सुन्दरदेवी, शान्तिनगरका वडाध्यक्ष माधव कोईराला, प्रहरी चौकी तरहराका प्रमुख प्र.ना.नि. टिका प्रसाद नेपाल, तथा ट्राफिक प्रहरी पोष्ट तरहराका प्रमुख प्र.स.नि. नारायण प्रसाद लुईटेल लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथि, समाजसेवी, खेलप्रेमी, युवा तथा वृद्ध सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमका प्रमुख आयोजक तथा ‘तरहरा रन’का अध्यक्ष शिव रुम्दाली बायुङ राईले यो सय हप्ते यात्रामा साथ दिने सम्पूर्ण धावकधाविका, स्वयंसेवक, अभिभावक, शुभेच्छुक र समर्थकप्रति गहिरो आभार प्रकट गर्दै भने, "हामीले सुरु गर्दा सोचेका थिएनौँ कि यो यात्रा सयौँ हप्तासम्म यसरी निरन्तर र सफल हुनेछ। यहाँको समुदायको साथ, सकारात्मक सोच, र स्वास्थ्यप्रतिको लगावले हामीलाई यहाँसम्म ल्यायो।"1752484488256

यो साप्ताहिक दौड कार्यक्रमले खासगरी स्वस्थ जीवनशैलीको प्रवर्द्धन, सामुदायिक एकताको सुदृढीकरण, र सकारात्मक सामाजिक सञ्जाल निर्माणमा अभूतपूर्व योगदान पुर्‍याउँदै आएको छ। सबै उमेर समूहका व्यक्तिहरूको उत्साहजनक सहभागिता यो कार्यक्रमको बलियो पक्ष बनेको छ।

कार्यक्रमको अवसरमा केही विशेष सम्मान, धावकहरूको अनुभव सन्देश, र सांगीतिक प्रस्तुतिले वातावरणलाई अझ उत्सवमय बनाएको थियो। सहभागीहरूका अनुहारमा गर्व, उत्साह र प्रेरणा स्पष्ट देखिन्थ्यो।

‘तरहरा रन’ अब केवल दौडको कार्यक्रम मात्र होइन, स्वास्थ्य र सामाजिक सशक्तीकरणको गतिशील अभियान बनेको छ। आगामी दिनहरूमा यसलाई अझ विस्तार गर्दै, नयाँ स्थान र समुदायहरूमा समेत पु¥याउने आयोजकहरूको योजना रहेको छ।1752484481363