काठमाडौँ । भाटभटेनी सुपरमार्केट व्यवस्थापन पक्षले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा निर्माण गरिएको ईएचएस भवन सोमवार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताल व्यवस्थापनलाई उक्त भवन हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको उद्घाटन गरे ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना स्व। मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा नौ करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन बनाइदिएका हुन् । भाटभटेनीले शिक्षण अस्पतालमा भवन बनाइदिएको यो दोस्रो भवन हो । ०६८ सालमा पनि भाटभटेनीले १० करोड रुपैयाँ लागतमा त्यहाँ आकस्मिक कक्षको भवन बनाइदिएको थियो । भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले धन धेरैले कमाए पनि दान–पुण्यको काम कमैले मात्र गर्ने गरेको बताए । उनले भने– ‘औधि खुशीको कुरा हो, दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्रा गुरुङजीले फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नु भएको छ, सम्पूर्ण नेपाली जनताको हितको निम्ति । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरून् भन्नका निम्ति ।’

अस्पताल भवन बनाइदिएकामा प्रधानमन्त्री ओलीले गुरुङको प्रशंसा गरे । ‘मीनबहादुर गुरुङजी, सावित्रा गुरुङजीलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु’, उनले भने– ‘उहाँहरूले असाधारण राम्रो काम गर्नुभएको छ । गर्दै आउनु भएको छ ।’ कतै बाल अस्पताल बनाउँदै गरेको, कुनै ठाउँमा विद्यालय भवन बनाएर गुरुङले हस्तान्तरण गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले भने– ‘म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।’भाटभटेनीका अध्यक्ष गुरुङले ईएचएस भवन बनाएर हस्तान्तरण गर्न पाउँदा आफूहरू ज्यादै हर्षित भएको बताए । ०६८ सालमा डा।अरुण सायमीले शिक्षण अस्पतालमा इमर्जेन्सी भवन आवश्यक रहेको बताएपछि आफूहरूले सहयोग गरेको उनले स्मरण गरे ।

आउँदा दिनमा पनि आफूहरू मानव सेवामा अग्रसर रहने उनले बताए । ‘भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरीकन सफा मनले सहयोग गर्न हामी तयार छौँ’, गुरुङले भने ।