इटहरी । कोशी प्रदेश सरकारले केवल बजेट पारित गर्ने परम्परागत अभ्यासभन्दा बाहिर निस्कँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमै जोड दिने नीति लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह, सामाजिक शुद्धीकरण र स्थानीय प्रशासन सुदृढीकरणका क्षेत्रमा केन्द्रित नीति तथा निर्णयहरू सार्वजनिक गरेको हो । बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले बजेट प्रभावकारी कार्यान्वयनका लागि निदेशन दिनुभएको जनाउनुभयो । यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्रलाई वडा नम्बर ५ को भञ्जाङमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । समाजमा बढ्दो व्यवहारिक विकृति नियन्त्रण गर्न ‘सामाजिक व्यवहार शुद्धीकरणसम्बन्धी ऐन’ ल्याउने प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाएको छ । यसैगरी, सरकारी कामकाजको भाषालाई व्यवस्थित गर्न समाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको विधेयक मस्यौदाका लागि पनि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।