इटहरी । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् । सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो । कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए ।

२०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो । हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चार नगरपालिका मादी, चैनपुर, धर्मदेवी र पाँखपनमा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । कार्यालय प्रमुख हरिशरण नेपालका अनुसार दुई नापी टोलीले आवादी क्षेत्रको करिब २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार पाँच सय हेक्टर क्षेत्रमा काम गरिसकेको छ । चैनपुरको वडा नं। ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको कार्यालय प्रमुख नेपालले बताउनुभयो ।