रामधुनी । रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक छिट्टै कालोपत्रे हुने भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे गरिने छ भने बाँकी भाग ग्राभेल तथा पक्की ढल निकासको व्यवस्थासमेत गरिने छ।

निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिने योजना छ, जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको छ।

श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको छ। कम्पनीका प्रोप्राइटर दिनेश श्रेष्ठका अनुसार मौसम अनुकूल रहेमा एक महिनाभित्रै सम्पूर्ण काम सम्पन्न गरिने लक्ष्य राखिएको छ। उनका अनुसार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिनेछ र कामलाई दीगो तथा मापदण्डअनुसार सम्पन्न गरिनेछ।

श्रेष्ठले भने, “हामीले यसअघि पनि रामधुनी नगरपालिकासहित आसपासका विभिन्न सडकखण्ड कालोपत्रे गरेका छौं। ती सडकहरु दिगो भएका छन् र स्थानीयवासी सन्तुष्ट छन्। यही विश्वास र अनुभवका आधारमा यो सडक पनि गुणस्तरीय रूपमा निर्माण गर्नेछौं।”

रामधुनी मन्दिर क्षेत्रमा हरेक वर्ष हजारौं श्रद्धालु भक्तजन आउने गर्दछन्। तर वर्षायाममा सडक हिलाम्य हुँदा आवतजावतमा समस्या हुने गुनासो स्थानीयवासीले गर्दै आएका थिए। अब सडक कालोपत्रे भएपछि मन्दिर आउने भक्तजन र स्थानीयवासीलाई सुविधाजनक यात्राको व्यवस्था हुनेछ।IMG-20250716-WA0016

रामधुनी नगरपालिकाले सडकको गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। नगरपालिकाले स्थानीयवासी, सरोकारवालाहरु तथा निर्माण कम्पनीसँग सहकार्य गरी समयमा काम सम्पन्न गर्न पहल गरिरहेको जनाएको छ।

स्थानीयवासीहरुले पनि निर्माण कम्पनी तथा नगरपालिकालाई यथाशीघ्र गुणस्तरीय सडक निर्माणमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन्।

यस सडकको कालोपत्रे सम्पन्न भएपछि धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै क्षेत्रको आर्थिक गतिविधि समेत विस्तार हुने अपेक्षा गरिएको छ।