इटहरी । एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ ।
यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेका अनुसार सिँचाइ योजना मर्मतको प्रयास भए पनि पूर्णरुपमा हुन सकेको छैन । फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमा क्षेत्र पर्ने शिवादोभानको फाँटमा सिंचाइको सुविधा हुँदा अहिले खेतीपाती हुन छाडेको स्थानीय ललितबहादुर सम्बाहाम्फेको भनाइ छ । सिँचाइको अभावमा खेतीयोग्य जमिन बाँझिदै जाँदा स्थानीयको आयआर्जनको स्रोत पनि बन्द भएको उहाँको भनाइ छ । सम्बाहाम्फेकाअनुसार अहिले उत्पादन हुन छाडेपछि दाउरा र पानीबाहेक सबै किनेर खानुपर्ने अवस्था छ ।
उहाँका अनुसार सिँचाइको अभावमा शिवादोभानमा पर्ने फिदिम नगरपालिका(४ सरखण्डे, फिदिम(९ लुम्फाबुङ र कुम्मायक(४ रानीगाउँका खोला आसपासका खेत बाँझिएका छन् । कुम्मायक गाउँपालिका–४ का वडाध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फेले निर्माण कम्पनीले समयमै काम नगर्दा समस्या भएको बताउनुहुन्छ । सिँचाइ कुलो मर्मतका लागि चालु आर्थिक वर्ष २०८१र८२ मा कुम्मायक गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । यद्यपि काम भने नभएको उहाँको भनाइ छ ।


