इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा रोपाइँले गति लिन सकेको छैन । असारको अन्तिमसम्म आइपुग्दा जिल्लामा जम्मा ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । जिल्लामा कुल ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर भरपर्दो सिचाइँ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिले अधिकांश किसानले राखेको बिउ अझै ब्याडमै रहेको ज्ञान केन्द्रका प्रमुख छत्र विकले बताउनुभयो । साथै विकका अनुसार, पछिल्लो समय सहरी क्षेत्रमा बसाइसराइ बढ्नु, कृषिमा युवाको चासो घट्नु र जागिरे मानसिकताका कारण धेरै खेत बाँझिन थालेका छन् ।