इटहरी । रामधुनी मन्दिर जाने सड्क जिर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउँ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सड्क विग्रिएपछि सड्क कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ । संघीय सड्क बोर्डबाट विनयोजन भएको रकमबाट रामधुनी नगरपालिकाले ठेक्का खुलाएर सडकको काम सुरु गरिएको हो । सड्क बोर्डको बजेटमार्फत भगवान रामको पाउ स्पर्श भएको सुनसरीको रामधुनी मन्दिर पुग्न विग्रिएको ६६० मिटर सड्कमा कालोपत्रे गर्ने थालिएको छ । पाँच मिटर लम्बाई भएको सड्कको ४ दशमलब ५ मिटर कालोपत्रे हुने रामधुनी वडा ४ का वडा अध्यक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार ४९ लाख ६२ हजार ४५१ रुपियाँमा सड्क बनाउन टेण्डर पारेर श्रेष्ठ निर्माण कम्पनी रामधुनी –६ ले काम सुरु गरेको छ ।  झुम्मका बजारबाट सातकिलो मिटरको दूरीमा पुग्न सकिने रामधुनी मन्दिरमा सड्क खाल्टा खुल्टी हुँदा बर्खासँगै तीर्थ यात्रीहरु र स्थानीयवासीहरुले उक्त सडक भएर हिड्डुल गर्न सास्ती भोग्दै आउनुपरेको थियो । राजावास, प्रकाशपुर, सालवनी र इकाईका स्थानीयलाई पूर्वपश्चिम राजमार्गको झम्मकासँग जोड्ने सड्क मर्मत नहुँदा तीर्थयात्री र स्थानीले सम्या भोग्दै आएको स्थानीय दानबहादुर खत्री बताउनुहुन्छ । 

रामधुनी नगरपालिका –४ को रामधुनी जङ्गलमा अवस्थित रामधुनी मन्दिरमा हिन्दु धर्मावलम्बीहरुले श्रद्धापूर्वक भगवान रामले बालेको धुनीको दर्शन गर्न र विगुत लगाउन तीर्थालुहरु रामधुनी मन्दिर आउने गरेको रामधुनी गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने रामनवमी पर्वमा मर्यादा पुरुषेत्तम भगवान रामचन्द्रको स्मरण गरेर मनाइने गरिन्छ । रामको जन्म त्रेतायुगमा आजकै दिन अयोध्यामा भएको पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार हिन्दु धर्मावलम्बीहरुले रामनवमीलाई विशेष दिनका रुपमा मनाउने गरेको रामधुनी गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । रामको चरण परेको भूमि र हालसम्म पनि बलेको अखण्ड धुनी भगवान रामले बालेको धार्मिक विश्वास रहिआएकोले रामधुनी मन्दिरको छुट्टै विशेषता र महत्व रहेको छ । चौतर्फी जङ्गको बिचमा मन्दिर रहेकाले धार्मिक आस्था बोकेर देश विदेशबाट भक्तजनहरु दर्शनका लागि आउने गरेका छन् । भगवान श्री रामचन्द्र त्रेतायुगमा वनवासको क्रममा तपोवनको पूण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र एक जोर आफ्ना पाऊका खराऊ बास बसेकै ठाउँमा छाडिगएको पौराणिक कथन समेत रहेको मन्दिरका महन्त कासीदास उदासीको भनाइ छ ।  धुनी मन्दिरमा पूजा, आराधाना गर्नाले र धुनिबाट निक्लिएको विगुत लगाएमा चिताएको पुग्ने जनविश्वास छ । रामनवमी विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्री, तिज आदिजस्ता पर्वहरुमा नेपालको विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनको मन्दिरमा घुइँचो लाग्नेगरेको छ ।