इटहरी । ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ। जिल्ला अदालतले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फछ्र्योट गरेको हो। जिल्ला अदालतका स्रेष्तेदार मनोज बरालका अनुसार चालु आवको अन्तिम दिन बुधबार सम्ममा कुल ४२० वटा मुद्दाको फछ्र्योट भएको छ। चालु आवभित्र ३७५ वटा मुद्दाको फर्छ्योट गर्ने जिल्ला अदालतले लक्ष्य राखेकोमा ४५ वटा बढी मुद्दाको फछ्र्योट भएको स्रेष्तेदार बरालले जानकारी दिनुभयो। उहाँका अनुसार गत आवबाट जिम्मेवारी सरी आएको १२७ वटा र चालु आवमा नयाँ दर्ता भएको ४५२ गरी ५७९ वटा मुद्दामध्ये ४२० वटा मुद्दाको फैसला अर्थात फर्छ्योट गरिएको हो। जिल्ला अदालतमा दर्ता भएकामध्ये असार मसान्त सम्ममा दुई वर्ष पुगेको १७ र एक वर्ष छ महिना ९१८ महिना० पुगेका ४७ वटा सबै मुद्दाको फर्छ्योट भएको बरालले जानकारी दिनुभयो। अघिल्लो आवबाट जिम्मेवारी सरी आएकोसमेत असार मसान्त सम्ममा दर्ता भएका कुल ५७९ मध्ये फर्छ्योट भएकोबाहेक बाँकी १५९ वटा मुद्दाको फैसला अर्थात फर्छ्योट गर्ने जिम्मेवारी आगामी आर्थिक वर्षका लागि सरेको छ। यस्तै गत साउनदेखि असार मसान्तसम्म जिल्ला अदालतमा दर्ता निवेदन तथा प्रतिवेदनतर्फ १२६ वटा सबैको फर्छ्योट भएको स्रेष्तेदार बरालले जानकारी दिनुभयो। यता लक्ष्यभन्दा बढी सङ्ख्यामा मुद्दाको फर्छ्योट गरेर सपलता हासिल गर्नु अदालतका कर्मचारी, सेवाग्राही लगायतको सहयोगले सम्भव भएको जिल्ला न्यायाधीस विकास श्रेष्ठले बताउनुभयो। जिल्ला न्यायाधीस श्रेष्ठले आगामी आर्थिक वर्षमा पनि न्युनतम् र आवश्यक लक्ष्यसहित अदालतले काम गर्ने बताउनुभयो।
यसैगरी कैद तथा दण्ड जरिवानातर्फ तीन करोड ७६ लाख ४९ हजार ३२९ रुपियाँ जरिवाना असुल गर्नुपर्नेमा चालु आवको असार मसान्त सम्ममा १५ लाख २९ हजार ९४७ रुपियाँ असुल गरेको छ। तीन करोड ६१ लाख १९ हजार ३८२ रुपियाँ जरिवाना रकम अझै बाँकी रहेको अर्थात आगामी आवका लागि जिम्मेवारी सरी आएको जिल्ला अदालतले जनाएको छ। त्यस्तै कैदतर्फ एक हजार २३७ वर्ष पाँच महिना दुई दिनमध्ये ११९ वर्ष छ महिना चार दिन कैद सजाय पाएकाहरुबाट असुल भएको छ। एक हजार ११७ वर्ष १० महिना २८ दिन अझै असुल हुन बाँकी रहेको अर्थात कैद सजाय पाएकाहरुले कारागार बस्नुपर्ने अवधि बाँकी रहेको अदालतले जनाएको छ। यता क्षतिपूर्ति भराउनुपर्ने ७० जना कसुर पीडितमध्ये पाँच जनालाई तीन लाख १४ हजार ४३ रुपियाँ क्षतिपूर्ति भएको पनि जिल्ला अदालतका सूचना अधिकारी एवम् इजलास अधिकृत विष्णुकुमार राईले जानकारी दिनुभयो। इजलास अधिकृत राईले असार मसान्तसम्मको लगतअनुसार अझै कसुर पीडित ६५ जनालाई एक करोड ५५ लाख ६७ हजार ३०५ रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने बाँकी रहेको बताउनुभयो। उहाँका अनुसार बाँकी रहेको मुद्दा, कैद तथा जरिवाना असुली लगायतको फछ्र्योट गर्ने जिम्मेवारी आगामी आवका लागि सरेको छ।
