इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ । यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ । भवन निर्माणको काम हालसम्म जग उठाउने चरणमा पुगेको छ । अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ । निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले बताउनुभयो । बरालका अनुसार,यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जुनसुकै धर्म, सम्प्रदाय वा पृष्ठभूमिका व्यक्तिहरूका लागि पनि हो । मानिस जीवनमा कुनैपनि समयमा अप्ठ्यारो परिस्थितिमा पर्न सक्ने भएकाले सबैले सहज रूपमा प्रयोग गर्न सकून् भनेर यो भवन बनाएको उहाँले बताउनुभयो । भवन निर्माण कार्यमा स्थानीय निकायहरूको समेत सहभागिता देखिएको छ । इटहरी उपमहानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने वडा नम्बर २ बाट थप २ लाख रुपैयाँ उपलब्ध गराइएको छ । तर यो बजेट अपुग रहेको र छत हाल्ने, झ्यालढोका जडान गर्ने, भौतिक संरचना मजबुत पार्ने कामहरूका लागि थप सहयोग आवश्यक रहेको संयोजक बरालले बताउँनुभयो । सर्वसाधारण, धार्मिक श्रद्धालु, स्थानीय संघसंस्था र समाजसेवीहरूलाई यो सामाजिक कार्यमा हातेमालो गर्न अपिल गरिएको छ । भवन निर्माणको कार्य प्रभावकारी रूपमा अगाडि बढाउन उपभोक्ता समिति गठन गरिएको छ । जसमा वैदिक कर्मकाण्ड परिषद् सुनसरीका अध्यक्ष विष्णुप्रसाद अधिकारी, सचिव अर्जुन कोइराला , कोषाध्यक्ष उमा काफ्ले हुनुहुन्छ । अन्य सदस्यहरूमा गोविन्द कोइराला, , सागर सुवेदी, बाबुराम तिम्सिना, भानुभक्त भट्टराई र शिवनिधि ढकाल रहनुभएको छ ।
