इटहरी । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण प्रक्रिया अव्यवस्थित र कानुनी प्रावधान विपरीत रहेको भन्दै उपप्रमुख सङ्गीता कुमारी चौधरीले पत्रकार सम्मेलन गरी गम्भीर असन्तुष्टि व्यक्त गर्नु भएको छ । पत्रकार सम्मेलन मार्फत उपप्रमुख संगिता कुमारी चौधरीले नगर प्रमुखको गैरजिम्मेवार व्यवहार र असम्वेदनशीलताका कारण बजेट समयमै पास हुन नसकेको बताउँदै सम्पूर्ण नगरवासीहरूलाई वास्तविक अवस्था बुझ्न आग्रह गर्नु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, बजेट तथा नीति कार्यक्रम असार १० गतेभित्र नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजस्व परामर्श समिति तथा श्रोत अनुमान समितिको बैठक समयमै हुनुपर्नेमा पटक–पटक आग्रह गरिए पनि नगर प्रमुखको बेवास्ताले गर्दा असार ९ गते मात्र कार्यपालिका बैठक बोलाइएको थियो । यस्तै, नगरसभाको बैठक पटक–पटक स्थगित गर्दै अन्ततः असार ३० गते बोलाइए पनि, विनियोजन विधेयक र अर्थ विधेयक अनुसूची सहित प्रस्तुत गर्न नसकिएको उपप्रमुख चौधरीको भनाइ छ । विभिन्न शाखा, महाशाखा, वडा तथा शिक्षा शाखाबाट समयमै आवश्यक अनुसूची नआएकोले विधेयक तयार गर्न सम्भव नभएको उहाँले बताउनुभयो । बजेट निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि नगर प्रमुखको उदासीनता र गैरजिम्मेवारीले वर्तमान अवस्था सिर्जना भएको उपप्रमुख चौधरीको आरोप छ । अझै पनि नगर प्रमुखले सक्रियता देखाएमा जिम्मेवार रूपमा बजेट निर्माण प्रक्रिया पूरा गर्न तयार रहेको जनाउँदै, बजेट समयमै पास हुन नसक्नुको सम्पूर्ण जिम्मेवारी नगर प्रमुखमाथि रहेको बताउनुभयो । विगतका वर्षहरूमा समेत नगर प्रमुखले अनुसूची विना बजेट पारित गरी मनोमानी खर्च गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजुसमेत देखिएको कार्यपालिका सदस्य उमेश सुवेदी बताउनुभयो । यसपटक बजेटलाई पारदर्शी र कानुनसम्मत बनाउने प्रयत्नस्वरूप समयमै सूचना दिइए पनि बेवास्ता गरिएको उहाले बताउनुभयो । असारको अन्तीम दिन बजेट पारित गर्न इटहरी सरकार असफल भएको छ । बुधबार बसेको नगर सभा बैठक अर्को सुचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको हो ।