तरहरा | 'यो र्याली होइन, दौड होइन, यो हो एउटा यस्तो यात्रा जहाँ सबै विजेता हुन्छन्' भन्ने नारासहित तरहरा कोरा २०२५ च्यारिटी साइकल राइड कार्यक्रम आगामी श्रावण ३ गते, शनिबार बिहान तरहरा चोकबाट सुरु हुने भएको छ।
तरहरा साइकलिङ क्लबको आयोजनामा प्रत्येक वर्षझैँ यसपालि पनि यो राइड शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हो । यस कार्यक्रमबाट संकलित रकम श्री जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सुरज तामाङले बताउनुभयो ।
कोरा भन्नाले धार्मिक स्थलहरू वरिपरि घडीको दिशामा गरिने परिक्रमा जनाइन्छ। यही अवधारणाबाट प्रेरित भई कोरा साइकल राइड पनि समाज, सहर र बस्तीलाई जोड्ने एक प्रकारको सचेतनामूलक सवारी अभियान बन्न पुगेको छ। नेपाल र विदेशका विभिन्न स्थानहरूमा वार्षिक रूपमा आयोजना गरिने कोरा कार्यक्रमको यही सन्दर्भमा तरहरा कोरा पनि एक महत्वपूर्ण साइकल अभियानको रूपमा विकास भएको उपाध्यक्ष मीन कुमार खवास बताउछन्।
कार्यक्रममा ६ वर्षदेखि ७२ वर्ष उमेर समूहका साढे ५ सय भन्दा बढी सहभागीहरू रहने अनुमान गरिएको छ। इटहरी, धरान, तरहरा, उदयपुर, गाईघाट, बिराटनगर, दमक, इनरुवा लगायतका स्थानबाट सहभागिता रहनेछ।
कोरामा सिनियर कोरामा २२.५ किमी ,किड्स कोरा: ११.५ किमी रहेको थियोे । रूटहरूमा प्रमुख स्थलहरू, विद्यालय, वन क्षेत्र, बजार र चोकहरू समावेश गरिएका छन्। सहभागीहरूका लागि टिसर्ट, पदक, प्रमाणपत्र, स्कार्फ, पानी, मोही, खाजा लगायतका आवश्यक सामग्रीको व्यवस्था गरिएको छ।
ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार ,साइकल संस्कृतिको प्रवर्द्धन र वातावरणमैत्री सवारी साधनको प्रचार रहेको मुख्य उद्देश्य रहेको संस्थाका सचिव सन्तोष कुमार श्रेष्ठ बताउछन् ।
कार्यक्रमको प्रमुख प्रायोजक Bridge International Educational Consultancy–Itahari रहेको छ भने इटहरी उपमहानगरपालिका कार्यक्रमको व्यवस्थापक हो। रेडबुल, दिव्यजल, सिटि एक्सप्रेस, बडांली क्रिएशन, लायन्स क्लब, किवानिस क्लब, शान्ति जनकल्याण सहकारी संस्था लगायतका बिभिन्न संस्थागत र व्यक्तिगत सहयोगीहरू पनि कार्यक्रममा संलग्न छन्।
कार्यक्रमको समापन बहुभाषी आधारभूत विद्यालयमा हुनेछ। आयोजकका अनुसार ३ लाख खर्च हने अनुमान छ । आयोजकले सबै साइकल प्रेमी, समाजसेवी तथा वातावरणप्रेमीहरूलाई कार्यक्रममा सहभागिता जनाउन हार्दिक आग्रह गरेका छन्।
