भोजपुर | भोजपुर जिल्लालाई दक्षिण हुँदै तराईसँग जोड्ने दीर्घकालीन महत्वको भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे योजना अन्तर्गत काम सुरु गरिएको छ। भोजपुर नगरपालिका–१२ को कोटडाँडाबाट औपचारिक रूपमा सडक निर्माणको पहिलो चरणको सुरुवात गरिएको हो।
झन्डै ६० किलोमिटर लम्बाइको यो महत्वाकांक्षी सडकले दक्षिणी क्षेत्रका रामप्रसादराई, हतुवागढी, र आमचोक गाउँपालिकालाई छोटो दूरीमा तराईसँग जोड्ने अपेक्षा गरिएको छ।
हाल पहिलो चरणमा दुई करोड ५९ लाख रुपैयाँको लागतमा कालोपत्रे कार्य अगाडि बढाइएको हो।
सडक कालोपत्रे शिलान्यास भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष बद्रीकुमार श्रेष्ठ, वडा नं. १२ का वडाध्यक्ष देवी कार्की, नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि दिनेश कार्की लगायतको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा बन्न लागेको यस आयोजनाको ठेक्का सडक डिभिजन कार्यालय तुम्लिङटार र मार्सेली निर्माण सेवा बीच गरिएको हो। निर्माण कम्पनीका अनुसार ४० दिनभित्र तोकिएको काम सक्ने गरी कार्य अघि बढाइएको छ।
मेयर आलेले यस सडकले भोजपुरको भौगोलिक सम्पर्क विस्तारसँगै आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष श्रेष्ठले तराईसँगको सहज पहुँचले व्यापारिक गतिविधि प्रवर्द्धन हुने बताए।
