काठमाडौं, साउन ३ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न मञ्चको २१ औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

एसजी ग्रुपका निर्देशक घिमिरे नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्त, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटी, व्यापार तथा उत्पादनमूलक उद्योगजस्ता क्षेत्रमा सक्रिय उद्यमी हुन्।

उद्योग क्षेत्रमै लामो समयदेखि क्रियाशील घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन्। उनी यसअघि इटहरी उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिमा रही योगदान दिइसकेका छन्।

अध्यक्षमा निर्वाचित घिमिरेले मञ्चको सुनसरी शाखाका संस्थापक अध्यक्षका रूपमा सन् २०१९ मा आफ्नो कार्यकाल सुरु गरेका थिए।1752892979724

हाल सातवटै प्रदेशमा शाखा विस्तार गरिसकेको मञ्चमा एक हजारभन्दा बढी युवा उद्यमी सदस्य छन्। मञ्चका सदस्यहरूमार्फत देशभर झण्डै ८० हजारभन्दा बढीले रोजगारी पाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको पदेन कार्यसमिति सदस्यको रूपमा समेत एनवाईईएफ अध्यक्ष सहभागी हुने प्रावधान छ।