इटहरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथांका नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार संखुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । मन्त्री खड्काले किमाथांका नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिनुभयो । साथै, त्रिदेशीय सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा पनि मन्त्री खड्काले जोड दिनुभयो ।

उहाँले संखुवासभामा रहेका ठुला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी रहेको उल्लेख गर्दै दुबै छिमेकी मुलुकसँग समन्वय गर्दै विकासका काम अघि बढाउनु आवश्यक रहेको बताउनुभयो । नव उद्घाटन गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत जलस्रोतको दीगो उपयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको मन्त्री खड्काले जानकारी दिनुभयो । प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटिएको उक्त आयोजनाले चार जिल्लामा सेवा पुर्‍याउनेछ । ऊर्जा क्षेत्रको ८० प्रतिशत काम मन्त्रालयले सम्पन्न गरिसकेको पनि मन्त्री खड्काले जानकारी दिनुभयो ।