इटहरी | संघीय खानेपानी मन्त्री प्रदीप यादवले शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले खानेपानीलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समानरूपमा सेवा पुर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताएका हुन्।
“कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ,” मन्त्री यादवले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”
उनले समावेशी दृष्टिकोणमार्फत विकासको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, झुम्का खानेपानी आयोजना स्थानीय नागरिकको चाहना र विकासको सम्भावनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे।
मन्त्री यादवका अनुसार खानेपानी मन्त्रालय सेवा–उन्मुख सामाजिक मन्त्रालय हो, जसले सबै नागरिकसम्म शुद्ध र सुरक्षित खानेपानी पुर्याउने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको छ।
झुम्का खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष केसीलाल चौधरीका अनुसार, आयोजनाबाट रामधुनी नगरपालिकाको वडा नं. १, २, ३ र ५ का करिब २२,७८७ नागरिक तथा ४,०३१ घरधुरी लाभान्वित हुनेछन्। यो जानकारी क्षेत्रीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, इटहरी सुनसरीका प्रमुख महेसी महतोले दिएका हुन्।
कार्यक्रममा पूर्व संघीय सांसद नवदिता चौधरी, नगर प्रमुख शंकरलाल चौधरी, उप–प्रमुख तारा थापा, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, उप–महानिर्देशक राजेन्द्र सापकोटा, आयोजना निर्देशक सुरत बम, उप–निर्देशक महेश न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
