इटहरी | इटहरी उपमहानगरपालिका–२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट २ सय ५३ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन्।
रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा जाँच, औषधि वितरण, चश्मा वितरण तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा सहजीकरण गरिएको थियो।
संस्थाका अध्यक्ष विकास भण्डारीका अनुसार, शिविरबाट विशेष गरी वृद्धवृद्धा र आँखाका समस्या भोगिरहेका नागरिकले राहत महसुस गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २ का वडा सदस्य दुर्गाबहादुर धमलाले यस्तो प्रकारका सेवा कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने बताए।
शिविरको व्यवस्थापन संगीत प्रतिष्ठान टोल विकास संस्थाको महिला कार्यसमितिले गरेकाे हो। कार्यक्रममा (रामलाल गोल्छा आँखा अस्पतालका डाक्टर राजेश यादव, संगीत साधना प्रतिष्ठान, इटहरीका महासचिव राजु केशी, समाजसेवी बालकुमार अधिकारी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
संस्थाले यसअघि पनि एसईई उत्तीर्ण विद्यार्थी सम्मान, स्वास्थ्य शिविर, टोल सरसफाइ, वृक्षरोपण, वार्षिक क्यालेन्डर प्रकाशन लगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको छ।
