इटहरी । साउनको पहिलो साता सकिन लाग्दा समेत धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४९३८ दशमलब ८९ हेक्टर धान हुने खेतीयोग्य क्षेत्रफल रहेको छ । जसमध्ये हालसम्म ५३ प्रतिशत अर्थात् २६१७।६१ हेक्टरमा मात्र रोपाइँ सकिएको छ । जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा सिचाइँभन्दा पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले बेलैमा रोपाइँ हुन नसकेको हो । पर्याप्त पानी नपर्नाले धनकुटमा ४७ प्रतिशत अर्थात् २३२१।२८ प्रतिशत रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जनाकारी दिनुभयो । धनकुटाको धनकुटा, महालक्ष्मी र पाख्रीबास नगरपालिका तल्लो भूभाग साथै शहिदभूमि, छथर जोरपाटी चौविसे र साँगुरीगढी गाउँपालिकाका तल्लो भूभागमा विषेशगरी रोपाइँका लागि उपयुक्त तथा खेतीयोग्य जमिन रहेको छ । ज्ञान केन्द्र प्रमुख रानाका अनुसार गत बर्ष यो बेलासम्म धनकुटामा रोपाइँ करिब सकिएको थियो । यो साल बर्षा नभएका कारण रोपाइँ सकिन ढिला भएको बताउनुभयो । सात स्थानीय तह रहेको धनकुटामा समयमा पानी नपर्नाले रोपाइँ नहुनु एउटा समस्या रह्यो भने अर्को समस्या कृषकलाई मलबीउ आवश्यकताअनुसार बेलैमा उपलब्ध नहुँदा समस्या थपिएको कृषको गुनासो छ । सम्भावित रोपाइँको अन्तिम चरण पुगिसक्दा समेत अपेक्षाकृत रुपमा रोपाइँ भएको छैन ।