इटहरी | नेपाल पत्रकार महासंघ, सुनसरी शाखाको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता गरिएको छ। हालै पत्रकारितामाथि बढ्दो दमन र अभिव्यक्ति स्वतन्त्रतामाथि देखिएको हस्तक्षेपका विरुद्ध आवाज बुलन्द गर्न पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, शिक्षाविद्, साहित्यकार, कलाकार, युवा तथा राजनीतिक दलका प्रतिनिधिहरूले उल्लेखनीय उपस्थिति जनाएका थिए।
कार्यक्रमको उद्घाटन पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षता तथा महासंघका केन्द्रीय प्रतिनिधिको विशेष उपस्थितिमा गरिएको थियो। सभा स्थलमा ‘प्रेस स्वतन्त्रता कुण्ठित नगर’, ‘लोकतन्त्रको आधार – स्वतन्त्र प्रेस’, ‘पत्रकारमाथि दमन बन्द गर’ लगायतका नारासहित ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।
सभामा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो समय सरकारले तथा केही स्थानीय तहका प्रमुखहरूले प्रेस स्वतन्त्रतामाथि अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउँदै उनीहरूले राज्यसंयन्त्रबाटै त्यसको अवमूल्यन भइरहेको जनाए।
नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले भने, “व्यावसायिक, निष्पक्ष र सत्य पत्रकारिता लोकतन्त्रको पहरेदार हो। पत्रकारहरूमाथि धम्की, चरित्रहत्या र अवहेलना लोकतान्त्रिक मूल्यविपरीत हो। यस्तो कार्यप्रति हामी कडा आपत्ति जनाउँछौं।”
सभाको प्रमुख कारण बनेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको पछिल्लो समय पत्रकारविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्ति। मेयर पौडेलले केही पत्रकारहरूको आलोचनात्मक समाचारप्रति प्रतिक्रिया जनाउँदै सार्वजनिक रूपमा प्रयोग गरेका अवहेलनात्मक शब्दहरूप्रति चौतर्फी विरोध भइरहेको छ।
पत्रकार महासंघ, प्रेस युनियन, एडिटर्स सोसाइटी, स्वतन्त्र मिडिया समूह, र विभिन्न सामाजिक अभियन्ताहरूले मेयर पौडेलको अभिव्यक्तिलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको सीधै आक्रमणको संज्ञा दिएका छन्। वक्ताहरूले पौडेलको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने माग राखेका छन्।
सभामा वक्ताहरूले स्पष्ट रूपमा भने – “प्रेस स्वतन्त्रता कुनै व्यक्तिको दया वा कृपाबाट होइन, संविधानले दिएको अधिकार हो। यो अधिकारको रक्षा गर्नु सरकार, राज्यसंयन्त्र र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो।”
सभामा युवा पुस्ताका प्रतिनिधिहरूले स्वतन्त्र प्रेस बिना समृद्ध लोकतन्त्र असम्भव हुने तर्क गर्दै भविष्यका लागि पत्रकारहरूको मनोबल उच्च राख्न राज्य र समाज दुवै जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
सभापछि जारी गरिएको पत्रकार महासंघ सुनसरी शाखाको विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रतामाथि चुनौती आउने हो भने पत्रकारहरू गुम्सिएर बस्ने छैनन्। आवश्यक परे थप चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।” साथै स्थानीय प्रशासन, सरोकारवाला निकाय र सुरक्षाका अंगहरूलाई पनि निष्पक्षता अपनाउन आग्रह गरिएको छ।
वक्ताहरूले प्रेस र सरकारबीच सम्बन्ध समन्वयात्मक हुनुपर्नेमा जोड दिँदै, पत्रकारिताको मर्यादा, व्यावसायिकता र उत्तरदायित्व सुनिश्चित गर्न सञ्चारमाध्यमहरू स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा राखे। सरकारले गुनासो भए नियमनकारी निकायमार्फत औपचारिक प्रक्रिया अपनाउनुपर्ने, नकि सार्वजनिक रूपमा अपमानजनक भाषा प्रयोग गर्नु पर्ने उनीहरूको भनाइ थियो।
इटहरीमा सम्पन्न ऐक्यबद्धता सभाले पछिल्लो समय पत्रकारिता क्षेत्रमाथि देखिएको आक्रोश र चिन्तालाई खुला रूपमा प्रस्तुत मात्र गरेन, राज्य संयन्त्रलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न गम्भीर सन्देश पनि दिएको छ। यदि यस्ता घटनाक्रमले निरन्तरता पायो भने, पत्रकारहरू थप उग्र आन्दोलनमा जान बाध्य हुने संकेत पनि दिइएको छ।
