इटहरी । सुनसरीको धरानमा तेजाब (एसिड) सेवन गरी सिकिस्त भएका एक पुरुषको आइतबार राति मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको विराटनगरमा उपचारका क्रममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेलगत्तै उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। प्राथमिक उपचारपछि थप जटिल उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा करिब दुई सातापछि आइतबार राति १० बजेतिर उनको मृत्यु भएको डीएसपी खतिवडाले जानकारी दिए।
