इटहरी । लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (सोमबार) बिहान ९ बजे दिएको अद्यावधिक विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै, पाँचथर जिल्लाको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सवारीसाधनको आवागमन ठप्प भएको जनाइएको छ । पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण तमोर कोरिडोर पनि बन्द भएको प्रहरीले जानकारी दिएको छ।