इटहरी । ताप्लेजुङमा निर्माण सुरु भएको माथिल्लो तमोर जलविद्युत् आयोजनाको विरोध गर्दै आएका स्थानीयले आन्दोलनका कार्यक्रममा घोषणा गरेका छन् । आयोजनाको काम रोक्न पटक पटक अनुरोध गरे पनि अटेर गरिएको भन्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका तर्फबाट गठित अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्य्रक्रम सार्वजनिक गरेको हो ।
सङ्घर्ष समितिले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार अबको एक हप्ताभित्र आयोजनाको काम रोकेर सबै सामान फिर्ता लैजानुपर्ने, साउन ११ गतेपछि फक्ताङ्लुङ क्षेत्रमा कुनै पनि हाइड्रोपावर र कोरिडोर परियोजनाका सवारी साधन, मेसिन उपकरण सञ्चालनमा रोक लगाउने, घोषित कार्यक्रममाथि बल प्रयोग भएमा चरणबद्ध थप आन्दोलन घोषणा गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थलमा जबरजस्ती जलविद्युत् निर्माण गर्न लागेको भन्दै विरोध गर्दै आएका छन् ।
सङ्घर्ष समितिका संयोजक वीरबल लिङ्खिमले आदिवासीको सभ्यता र मुन्धुमी स्थलको अस्तित्वमाथि क्षति हुने गरी हाइड्रोपावर निर्माण गर्न लागेको भन्दै तीन वटै तहको सरकार, आयोजना निर्माण कम्पनीलगायतमा पटक पटक ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको बताउनुभयो । निर्माण पक्षले प्रभावित क्षेत्रका बासिन्दासँग सहमतिका लागि वार्ता र संवाद तथा छलफल गर्न चाहेमा आफूहरू तयार रहेको पनि उहाँको भनाइ छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने गरी निर्माणको काम सुरु गरेको छ ।
