तेह्रथुम | विद्यालय तह घटाउने निर्णयको विरोधमा तेह्रथुमको लालीगुराँस नगरपालिकाको कार्यालयमा आइतवार विद्यार्थी, अभिभावक र स्थानीयवासीले घेराउ गरेका छन्।
गत असार २६ गते नगर कार्यपालिकाको बैठकले नगरक्षेत्रका आठवटा माध्यमिक विद्यालयको कक्षा ११ (प्लस टु) तह घटाएर दुईवटामा मात्र सीमित गर्ने निर्णय गरेको थियो। त्यसको विरोधमा वडा नम्बर ६ र ८ का बासिन्दा आन्दोलित बनेका हुन् ।
नगरपालिकाले वडा नं. ८ मा रहेको रत्न माविमा प्लस टु पठनपाठन केन्द्रित गर्ने निर्णय गरेपछि सोही वडामा पर्ने मंगलबारेस्थित सिंहदेवी माविको प्लस टु तह हटाइएको छ। विद्यालय तह घटाएर आफ्ना छोराछोरीलाई गाउँमै अध्ययन गर्ने सुविधाबाट वञ्चित गराइएको भन्दै अभिभावकहरूले असन्तोष व्यक्त गरेका छन्।
स्थानीय बुद्रोस लिम्बूले भने, "हामीले दुःख गरेर स्थापना गरेको विद्यालयमा तह घटाएर अन्यत्र गाभ्ने निर्णय सरासर अन्याय हो। जबसम्म निर्णय फिर्ता हुँदैन, आन्दोलन जारी रहन्छ।"
करीब ३० किलोमिटर टाढाबाट विद्यार्थी, अभिभावक, स्थानीय अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू चारवटा बस रिजर्भ गरी नगरपालिकाको बसन्तपुरस्थित कार्यालय घेराउ गर्न आएका थिए। उनीहरूले लामो समय नाराबाजी गर्दै नगरपालिकाको निर्णय विरुद्ध आवाज उठाएका छन्।
लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङका अनुसार विद्यालयमा विद्यार्थी संख्या न्यून, भौगोलिक दुर्गमता, बसाइँसराइको दर वृद्धि, र अवसरको खोजीजस्ता कारणका आधारमा विद्यालय तह घटाउने निर्णय लिइएको हो।
उनका अनुसार, “शिक्षक र विद्यार्थीको अनुपातका आधारमा अन्य विद्यालयहरूको तह पनि आवश्यकतानुसार घटाउँदै लैजाने नीतिअनुसार निर्णय गरिएको हो। बसन्त मावि र रत्न माविलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने योजना पनि छ।”
नगर प्रमुख माबोहाङले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका विद्यालयहरूमा गुणस्तरीय सेवा दिन कठिनाइ भएकाले स्रोत केन्द्रीकरण गरी सुविधा सम्पन्न केन्द्र बनाउनुपर्ने आवश्यकता औंल्याए।
