इटहरी । नेवार समुदायले मनाउने गठेमङ्गलु (नेवारी भाषामा गथामुग) आज इलाममा पनि मनाइएको छ । नेवारी समुदायमा गठेमङ्गललाई दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग र अराजकताविरुद्धको विजयको प्रतीक रुपमा मनाइने गरिएको छ । यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने सांस्कृतिक परम्पराका रुपमा मान्ने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।

मानिसको आकृति जस्तै  देखिने  काठको पुत्लालाई भूतको पुत्लाको रुपमा बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ । नेवारी तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गर्ने गरिएको इलाम नगरपालिका–५ का पूर्व वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताउनुभयो । उक्त पुत्लालाई बेलुका टोलटोलमा डोर्‍याएर जलाइन्छ । यसरी जलाउँदा त्यो टोलबाट राक्षस, भूत, प्रेत हट्ने विश्वास  रहेको श्रेष्ठको भनाइ छ ।