इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष प्रभात कुमार आचार्यसहित स्थानीय बासिन्दाहरूले लामो समयदेखि निरन्तर रुपमा आएको विद्युत भोल्टेज समस्या समाधान गर्न माग गर्दै आज इटहरी वितरण केन्द्र अन्तर्गत झुम्का फ्युज सेवा केन्द्रमा धर्ना दिएका छन्।
स्थानीय महिला, बालबालिका, युवा तथा अभिभावकहरू मिलेर दिउँसो ३ बजेदेखि ६ बजेसम्म कार्यालय अगाडि धर्नामा बसेका थिए। उनीहरूले राति बत्ती बल्दैन, फ्यान चल्दैन, विद्युतीय उपकरण काम गर्दैनन्, विद्यार्थीहरू पढ्न सक्दैनन् भन्दै पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका थिए।
स्थानीयको आवाजमा ऐक्यबद्धता जनाउँदै वडा नम्बर १७ का अध्यक्ष आचार्य पनि धर्नामा सहभागी भए।
धर्नापछि झुम्का फ्युज सेवा केन्द्रका इन्चार्ज राजकुमार चौधरी र इन्जिनियर विशाल श्रेष्ठले फिल्डमा गएर समस्या निरीक्षण गरे। निरीक्षणपछि विद्युत संरचनाको मर्मत र स्तरोन्नतिको ठेक्का भइसकेको जानकारी दिँदै अबका केही दिनभित्र समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।
उक्त आश्वासनपछि धर्नामा बसेकाहरु साँझ ६ बजे फर्किएको थियो। स्थानीयले भने विद्युत सेवा छिट्टै सुचारु नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
