इटहरी । ‘नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम’ भन्ने मूल उद्देश्यसहित स्थापना गरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले इटहरीमा काेशी प्रदेश सम्पर्क कार्यालय स्थापना गरेकाे छ । इटहरी उपमहानगर २ सुकल्प सामुदायिक भवनमा साे कार्यालय स्थापना संगै सञ्चालनमा ल्याइएकाे हाे । केन्द्रले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आगामी याेजना र सञ्चालन भइरहेकाे कार्यक्रमहरू बारे जानकारी गराएकाे छ ।
२०६६ सालमा स्थापना भएको केन्द्रले वैदिक सनातन धर्म र अध्यात्मिक चेतनाको प्रसार गर्ने आत्मसाक्षात्कारमार्फत मानव जीवनलाई सार्थक बनाउने कार्यलाई मूल ध्येय मानेको पत्रकार सम्मेलनमा बताइएकाे छ ।
केन्द्रकी काेशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलले संस्था सञ्चालनमा आए लगत्तै बिभिन्न सामाजिक कामहरू गर्न प्रारम्भ भइसकेकाे उल्लेख गर्नु भयो । सामाजिक स्तरमा त्रिनेत्रबारे चर्चा , ज्ञान ,सचेतना , मानव जिवनकाे उद्येश्य लगायतका विषयमा बहस थालिएकाे बताउनुभयो ।
त्यस्तै केन्द्रका संरक्षक महेश्वरानन्द केशर पुरीले संस्थाको नाम 'त्रिनेत्र' राखिनुका पछाडि शिवजीको तेस्रो नेत्र (दिव्य चक्षु) प्रतीक रहेको छ, जसले ज्ञान, आत्मजागरण र दृष्टिको विकासको संकेत गर्ने बताउनु भयो ।
कार्यक्रममार्फत अध्यात्मको वैज्ञानिक विश्लेषण, धार्मिक ग्रन्थ पाठ, ध्यान र योग अभ्यास लगायतका गतिविधि सञ्चालन भइरहेको छ । 
केन्द्रले नयाँ कार्यालय स्थापना गरेलगत्तै हरिशयनी एकादशी (असार २२) देखि हरिबोधनी एकादशी (कात्तिक १५) सम्मका लागि चर्तुमास कथा पाठ परायण तथा जीवनदर्शन सत्सङ्ग कार्यक्रम सुरु गरेको छ ।
त्यस्तै स.स्थाका केन्द्रीय अध्यक्ष खिलहरी यात्रीका अनुसार त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले हालसम्म कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ। साथै काठमाडौं, भक्तपुर, रामेछाप, दोलखा, नवलपरासी, रुपन्देही र सुनसरी जिल्ला गरी ६५ भन्दा बढी इकाइ सञ्चालनमा छन्। हालसम्म ४ हजारभन्दा बढी सदस्यता वितरण भइसकेको छ।
संस्थाले जात, धर्म वा लिङ्गका आधारमा कुनै भेदभाव नगरी समावेशी रुपमा सनातन धर्मको जगेर्ना गर्दै आएको बताइएको छ। बाँकी तीन प्रदेशमा पनि विस्तार गर्ने योजना केन्द्रको रहेको छ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष खिलहरी यात्री, बागमती प्रदेश अध्यक्ष पार्वती खड्का, रेडक्रश उपशाखा इटहरीका अध्यक्ष दिनेस भट्टराइ ,काेशी प्रदेश सांसद मिना कुमारी श्रेष्ठ लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
