इटहरी । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले पुष्पलालको विचारमा एकढिक्का भएर अगाडि बढियो भने कहिले पनि पराजित हुनु नपर्ने बताउनुभयो । पुष्पलाल स्मारक समितिद्वारा आयोजित पाँचदिने कार्यक्रममा विचार गोष्ठी, कविता वाचन, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ, सौन्दर्यीकरण, झन्डोत्तोलन र दीप प्रज्वलन जस्ता विविध गतिविधि समेटिएको थियो ।
समापन कार्यक्रममा ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजेतालाई मन्त्री राईले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम, पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय र सत्यनारायण माविकी भारती अधिकारी तृतीय हुनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृतका पोलिटब्युरो सदस्य महेश रेग्मी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कुशल लिम्बू, नेकपा (एमाले) मोरङका पूर्वअध्यक्ष बाबुराम कार्की, राजनीतिक विश्लेषक कृष्ण पोखरेललगायतले पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियो ।
यसैबिच पाख्रीबास समाचारदाताका अनुसार पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । बुधबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) कार्यालयमा पुष्पलालको तस्बिरमा माल्यार्पण गरी पुष्पलाल स्मृति दिवस मनाइएको हो । कार्यक्रममा धनकुटाका नेकपा (एमाले) पार्टी धनकुटाका अध्यक्ष शिवा आङ्ला, सचिव पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा, प्रदेश कमिटी लेखा आयोगका उपाध्यक्ष मदन बस्याल र नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङलगायतले श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
माल्यार्पण कार्यक्रममा नेकपा (एमाले) सल्लाकार कमिटी अध्यक्ष भीम राई र नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठन केन्द्रीय अनुशासन आयोगका सचिव उपप्राध्यापक मीनप्रसाद अधिकारीलगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । माल्यार्पण कार्यव्रmममा बोल्दै नेकपा (एमाले) धनकुटाका अध्यक्ष शिव आङ्लाले कम्युनिस्ट नेताले देखाएको बाटोबाट अगाडि बढ्ने बताउनुभयो ।
