काठमाडौं । डेनमार्कको राजधानी कोपेनहेगनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरू भएको छ। सो सेमिनारको उद्घाटन डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै राजदूत तुलाधरले युरोपका उत्तरी देशहरूले शिक्षामा गरिरहेको प्रगतिशील अभ्यास नेपाली विद्यालयहरू र विद्यार्थीहरूका लागि पनि लाभदायक हुने बताइन् । प्याब्सनले यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय रहेको उनको भनाइ थियो। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५४ जना विद्यालयका संस्थापक, प्रिन्सिपल र शिक्षकहरू सेमिनारमा सहभागी छन्। सेमिनारलाई ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष अधिकारीले नेपालका विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षकहरूलाई विभिन्न देशका शैक्षिक अभ्यासहरू बुझ्ने अवसर दिनु सेमिनारको मुख्य उद्देश्य भएको बताए । प्याब्सनका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार डीके ढुंगानाका अनुसार टोली डेनमार्कपछि स्विडेन र फिनल्यान्ड भ्रमण गर्नेछ। फिनल्यान्डमा त्यहाँको विद्यालय शिक्षासम्बन्धी विशेष सेमिनार आयोजना गरिने जानकारी ढुंगानाले दिए । कार्यक्रममा ग्लोबल हेल्प फाउन्डेसनका प्रतिनिधिहरू सञ्जीव भट्टराई र प्रकाश खड्काले सहजीकरण गरेका थिए । सेमिनारमा सहभागी टोली जुलाई २२ मा काठमाडौँबाट प्रस्थान गरेको हो भने आगामी जुलाई ३१ मा पुनः काठमाडौँ फर्किने कार्यक्रम रहेको जानकारी आयोजकहरूले दिएका छन्।

