इटहरी । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तिनकुनेबाट च्याल्सासम्म जाने सडकको मुखमा रहेको करिब एकसय सात मिटर सडक सञ्चालनमा ल्याएको छ । नेपाली सेनाको व्यारेक क्षेत्रभित्र पर्ने त्यस स्थानमा सडक निर्माण गरी सोलुुखुम्बुबाट निर्वाचित रक्षा मन्त्री मानविर राईले उक्त सडकको उद्घाटन गरेपछि पूर्ण रुपमा सञ्चालनमा आएको हो । तत्कालीन द्वन्द्वको समयमा नेपाली सेनाले व्यारेक प्रयोजनका लागि गरेको अधिग्रहणबाट बन्द रहेको तत्कालीन पैदल बाटो २४ वर्षपछि खुल्दा स्थानीय खुशी भएका छन् । सेनाको अधिग्रहणमा रहेको जग्गा सोलुदूकुण्ड नगरपालिका र सरोकारवालाहरुको माग तथा रक्षामन्त्री मानवीर राईको समन्वयात्मक पहलमा सेनाले बाटो खोल्ने सहमति भएपछि सडक ट्रयाक खोली ढलान गरिएको हो । सडक निर्माणका लागि नेपाल सरकारबाट प्राप्त एक करोड रुपियाँ बजेटबाट नेपाली सेनाले सडक ढलान सहित निर्माण सम्पन्न गरेको हो । सडक उद्घाटनका क्रममा रक्षा मन्त्री मानवीर राईले विकासमा सबैको सहयोग आवश्यक हुने भन्दै नेपाली सेनाले निर्धारित बजेटबाट तोकिएको भन्दा बढी काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । त्यस अवसरमा राष्ट्रियसभा सदस्य सोनामग्याल्जेन शर्पा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रदेश सांसद बुद्धिकुमार राजभण्डमारी, सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थीति रहेको थियो ।

