इटहरी । स्वास्थ्य विमा बोर्डले प्रथम सेवा विन्दुबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हटाएपछि नगर अस्पतालको चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेपछि गत साउन १ गतेबाट मन्त्रालयले पुनः प्रतिष्ठानलाई प्रथम सेवा विन्दुको लागि छनोट भयो। तर, यसपटक असोज मसान्तसम्मका लागि बिपीलाई प्रथम सेवा विन्दू कायम गर्ने मन्त्रालयले पत्र पठायो। आउँदो तीन महिनाका लागि प्रतिष्ठानलाई प्रथम सेवा विन्दू कायम गरेपनि त्यसपछिको समय धरानवासी स्वास्थ्य वीमाको सेवा लिनका लागि कहाँ पुग्ने अन्योल सुरु भएको हो। सोही क्रममा धरान उपमहानगरपालिकाले वडा नम्बर १ छाता चौकस्थित जीर्ण अवस्थामा रहेको धरान अस्पतालको मुद्धा अघि सारेको हो। उद्योगी तथा यातायात ब्यवसायी सरोज श्रेष्ठका अनुसार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चर्चेको धरान अस्पतालको जग्गालाई फिर्ता गरि पुनः नगर अस्पतालको रुपमा अघि बढाउन पहल हुनुपर्ने हो। स्वास्थ्य मन्त्रालयले बिपीलाई आउँने तीन महिनासम्मको लागि प्रथम सेवा विन्दूमा कायम राखेको बताउँदै उनले त्यसपछि धरानवासी बीमाको सेवा लिन धरान बाहिर निक्लनुपर्ने स्थित रहेको उल्लेख गरे। तीन महिनापछि धरानवासीले बीमा सुविधा लिन इटहरी, इनरुवा वा चतरा पुग्नुपर्ने अवस्था रहेको छ। धरानमा नगर वा सरकारी अस्पताल नहुँदा समस्या भएको हो। २०७४ सालमा धरान अस्पतालको करिब १ विगाह ४ कट्ठा १३।१ धुर जमिन बिपीमा गाभिएको हुँदा सो जग्गा बीपीबाट फिर्ता लिएर नगरले वा जिल्लाले नै अस्पताल सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ। अर्कोतर्फ प्रतिष्ठानले सो जग्गा २०४८ सालमा तत्कालिन सरकारले प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय भएको जनाएको छ। सोही जग्गा फिर्ताको माग गर्दै धरानका मेयर हर्कराज साम्पाङले स्वास्थ्य मन्त्रालयलाई समेत विवादास्पद पत्र लेखेका थिए। मन्त्रालयसमक्ष नगरपालिकाले पुरानो अस्पताल क्षेत्रमा नगर अस्पताल निर्माण गर्न चाहेको उल्लेख गरिएको छ। जग्गाको विषयमा प्रतिष्ठानले पुरानो अस्पताल क्षेत्रलाई धरानवासीको हितमा प्रयोग गर्नका लागि आवश्यक संवाद, छलफल, र सहकार्य गर्न सकारात्मक रहेको जनाएको छ।
