इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखु र नजिकैको वडा ५ लिम्बुदिनबाहेक अन्य वडामा शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोप, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहका अनुसार नयाँ आर्थिक वर्षको सुरुमै अर्थात् साउन ४ देखि ८ गते बिहीबारसम्म वडाहरुमा शिविर सञ्चालन गरिएको छ । वडाहरुमा पुगेर सञ्चालित शिविरमार्फत पालिकाभित्रका ३९ जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेको शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी वडा ७ सुरुम्खिममा १२ जना गर्भवती महिलाले शिविरमार्फत गर्भ परीक्षण गराएका छन् ।
यस्तै, वडा २ सादेवा र वडा ३ आङ्खोपमा नौ–नौ जना, वडा ६ मेहेलेमा पाँच जना र वडा ५ लिम्बुदिनमा चार जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेका छन् । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार वडा १ कालिखोलामा रहेका तीन जना गर्भवती महिला गाउँबाहिर भएकाले उहाँहरु गर्भ परीक्षण सेवाबाट छुट्नुभएको छ । त्यस्तै, गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखुमा रहेका गर्भवती महिलाले साब्लाखु स्वास्थ्य चौकीमार्फत नै सेवा लिने हुँदा सो वडामा शिविर सञ्चालन नगरिएको गाउँपालिकाले जनाएको छ । पालिकाभरिका गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी वडाहरुमै घुम्ती शिविर सञ्चालन गरेर गर्भ परीक्षण सेवा प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।

