इटहरी । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा विभिन्न स्थानबाट २९ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो। यस्तै, प्लास्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारीलाई नियन्त्रणमा लिइएको अवाले बताउनुभयो।
पक्राउ परेका कारोबारीमाथि अनुसन्धान सुरु गरिएको छ। अर्जुनधारा नगरपालिका–५ का ५० वर्षीय ट्याम्पो चालक भरत मोहराको साथबाट १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। उहाँको साथबाट प्र–१–०१–००२ ह ७८५६ नम्बरको ट्याम्पो र १३ हजार २६० रुपियाँ नगदसमेत बरामद गरिएको अवाले जनाउनुभयो। कमल गाउँपालिका–७ का २७ वर्षीय सनम धिमाल र कमल–६ का २० वर्षीय प्रदीप दासको साथबाट ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूले प्रयोग गरेको प्र–१–०१–०१२ प ६३७९ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी, हल्दीबारी–३ का प्रितम तामाङको साथबाट १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बिर्तामोड–३ का २० वर्षीय सुनिल पासवान र २१ वर्षीय उदय पासवानको साथबाट ७९० मिलिग्राम ब्राउन सुगर फेला परेको अवाले बताउनुभयो।
इलामको सूर्योदय नगरपालिका–११ का ४५ वर्षीय रनधिर प्रधानको साथबाट १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

