इटहरी स्  झापाको अर्जुनधाराबाट प्रहरीले चार बोरा अवैध मडुवा सुर्तीसहित अटो र दुई जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार साँझ अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापस्थित भित्री सडकमा धुलाबारीबाट माता मन्दिरतर्फ आउँदै गरेको मे १ ह ४९१५ नम्बरको अटो जाँच गर्दा सुर्ती बरामद भएको हो। अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद मण्डलको नेतृत्वमा खटिएको टोलीले अटो जाँच गर्ने क्रममा अवैध सुर्ती फेला पारेको थियो।

प्रहरीले सुर्तीसहित अटो चालक बिर्तामोड–५ फुलबारीका ३६ वर्षीय टीकाराम राई र सुर्तीधनी पाँचथरको फिदिम नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर थापालाई नियन्त्रणमा लिएको छ। थापाले चलाएको जाँचमा परेको इभी स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका दुवै जना र बरामद सामग्रीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।