इटहरी। छोराको मृत्यु भएको ठानेर चिसाङ खोलामा अन्त्येष्टि गरिसकेको परिवारले शोकका कारण यस वर्षको दसैँमा टीकासमेत लगाएन । तर, दसैँको पूर्णिमाका दिन उनै छोरा जीवितै घर फर्किएपछि परिवारमा खुसीसँगै आश्चर्य छाएको छ ।

मोरङको लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राई जीवितै घर फर्किएपछि परिवारका सदस्य आश्चर्यचकित भएका हुन् । गत माघदेखि सम्पर्कविहीन रहेका पदमबहादुरको मृत्यु भएको ठानेर परिवारले गत जेठमै अन्त्येष्टि गरिसकेको थियो । मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका पदमबहादुर बेलाबेला कसैलाई जानकारी नदिई घर छाडेर हिँड्ने गर्थे । यसअघि हराउँदा कहिले आफैँ घर फर्किने र कहिले परिवारले खोजेर ल्याउने गरेका थिए । तर, गत माघमा घर छाडेपछि उनी लामो समयसम्म सम्पर्कमा आएनन् ।

यसैबीच गत जेठ २६ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भए । उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएका उनको भोलिपल्ट मृत्यु भयो । मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेर आफन्तको खोजीका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।

उक्त सूचना पाएपछि अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरिन् । आमाले सनाखत गरेपछि प्रहरीले शव परिवारलाई बुझायो । परिवारले शव चिसाङ खोलामा लगेर अन्त्येष्टि गर्‍यो । छोरा गुमाएको पीडामा रहेको परिवारले यस वर्षको दसैँमा टीकासमेत लगाएन । तर, दसैँको पूर्णिमाका दिन मृत ठानिएका पदमबहादुर अचानक घर फर्किएपछि परिवारका सदस्य स्तब्ध भए ।

जसलाई मृत ठानेर अन्तिम संस्कार गरिएको थियो, उनी नै जीवितै घर फर्किएपछि परिवारमा खुसी छायो । तर, सँगै अर्को गम्भीर प्रश्न पनि उब्जियो– आखिर चिसाङ खोलामा अन्त्येष्टि गरिएको शव कसको थियो रु पदमबहादुरले आफू भारतमा रहेको बताएका छन् । तर, उनी माघदेखि कहाँ बसेका थिए, कसरी भारत पुगे र यति लामो समयसम्म परिवारको सम्पर्कमा किन आएनन् भन्ने विषय स्पष्ट भइसकेको छैन ।

पदमबहादुर जीवितै फर्किएपछि परिवारले अर्कै व्यक्तिको शवलाई आफ्नै सदस्यको ठानेर अन्त्येष्टि गरेको खुलेको छ । यससँगै दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान खोज्नुपर्ने चुनौती प्रहरीसामु थपिएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका वास्तविक आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् । परिवारले आफ्नै सदस्य ठानेर अर्कै व्यक्तिको अन्त्येष्टि गरेको घटनाले शव पहिचान र सनाखत प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि पदमबहादुरको परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ । उनी जीवितै भेटिएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सरकारी अभिलेखमा शवको विवरण सच्याउने र दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचानका लागि पुनः अनुसन्धान गरिने जानकारी दिएका छन् । घटनाबारे थप बुझ्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा प्रहरी टोली पदमबहादुरको घर पुगेको थियो ।

एसपी कटवालका अनुसार परिवारलाई कोशी अस्पताल बोलाइएको छ । शव सनाखतका क्रममा तयार गरिएका कागजात फिर्ता लिने र मृतकको वास्तविक पहिचान खुलाउने प्रक्रिया अघि बढाइनेछ । पदमबहादुरकी आमाले शव आफ्नै छोरासँग मिल्दोजुल्दो देखिएकाले सनाखत गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, त्यसबेला शवको पहिचान कसरी यकिन गरिएको थियो र शव हस्तान्तरणअघि के–कस्ता प्रक्रिया अपनाइएका थिए भन्ने विषय अनुसन्धानबाट खुल्नेछ । छोरा गुमाएको शोकमा दसैँसमेत नमनाएको राई परिवारमा पूर्णिमाका दिन खुसी फर्किएको छ । तर, परिवारले अन्त्येष्टि गरिसकेको अज्ञात व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।

एउटा परिवारले मृत्यु भइसकेको ठानेको सदस्य जीवितै फिर्ता पाएको छ भने अर्कोतर्फ दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उनको मृत्युबारे जानकारीसमेत नपाएको हुन सक्ने अवस्था देखिएको छ ।  यस घटनाले बेवारिसे शवको पहिचान, आफन्तबाट गरिने सनाखत र शव हस्तान्तरणअघि अपनाइने प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।