इटहरी | इटहरी उपमहानगरपालिका–१ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले विद्यार्थीहरूमा आर्थिक साक्षरता, उद्यमशीलता र व्यवहारिक सीप विकास गराउने उद्देश्यसहित एक दिवसीय व्यवसायिक अभ्यास कार्यक्रम गरेको छ।
‘ईसिए (ECA – Extra Curricular Activities)’ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले साना साना समूहमा बाँडिएर दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक लेनदेन, वस्तु खरिद बिक्री, नाफा–घाटा गणना, हिसाबकिताब राख्ने तरिका जस्ता व्यवहारिक विषयवस्तुहरूमा प्रत्यक्ष अभ्यास गरेका थिए।
कार्यक्रममार्फत विद्यार्थीहरूले कसरी सामान किन्ने र बेच्ने, उत्पादन र मूल्य निर्धारण गर्ने, नाफा वा घाटाको हिसाब मिलाउने लगायतका कुराहरू व्यावहारिक रूपमा सिकेका थिए। यस कार्यक्रमलाई शिक्षकहरूले आर्थिक क्रियाकलाप (Economic Activity) वा व्यवसायिक अभ्यास कार्यक्रम (Business Practice Program) को रूपमा परिभाषित गरेका छन्, जुन अंग्रेजी माध्यमका विद्यालयहरूमा अत्यन्त प्रभावकारी सिकाइ माध्यमका रूपमा प्रयोग गरिन्छ।
विद्यालयका प्रधानाध्यापक राजेश बस्नेतले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यवहारिक ज्ञान बढाउने मात्र नभई भविष्यमा उनीहरूलाई आर्थिक रूपमा सक्षम र उद्यमशील बनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, विद्यार्थीले जीवनोपयोगी सीप पनि सिक्नुपर्छ। यस कार्यक्रममार्फत उनीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र निर्णय गर्ने क्षमता पनि विकास भएको देखियो।”
कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको समेत सक्रिय सहभागिता रहेको थियो। सबै सहभागीहरूले कार्यक्रमलाई प्रेरणादायी, सिकाइमैत्री र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।
विद्यालयले शैक्षिक पठनपाठनसँगै नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेलेको हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीले जानकारी दिनुभयो ।
यस किसिमको व्यवहारिक सिकाइका कार्यक्रमहरू आगामी दिनमा अझ फराकिलो रूपमा सञ्चालन गर्दै लैजाने विद्यालयको योजना रहेको जनाइएको छ।


