इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सत्र हजार जना बढीको आँखा परीक्षण तथा उपचार गरेको छ। आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका विरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो। डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षण साथै उपचार गरिएको छ। सदरमुकाम फुङ्लिङमा रहेको आँखा उपचार केन्द्रमार्फत छ हजार ६४७ जनाको आँखा परीक्षण तथा उपचार गरिएको वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो। उक्त सङ्ख्यामध्ये दुई हजार ९७० जना पुरुष र तीन हजार ६७७ जना महिला रहेका छन्। उमेरका हिसाबले उपचार केन्द्रमार्फत सेवा प्राप्त गर्नेमा १५ वर्ष माथिका पाँच हजार ५८८ जना र १५ वर्षमुनिका एक हजार ५९ रहेका पनि गुरुङले जानकारी दिनुभयो। यस्तै आँखा उपचार केन्द्रबाहिर जिल्लाका विभिन्न ८० वटा विद्यालयमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत छ हजार ९०० जना विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको छ। वरिष्ठ नेत्र अधिकृत गुरुङका अनुसार तीन हजार ४०७ जना छात्र र तीन हजार ४९३ जना छात्राको आँखा परीक्षण तथा उपचार गरिएको छ। आँखा परीक्षण गरिएकामध्ये ५३९ जना छात्रछात्राको आँखामा समस्या फेला परेको उहाँले जानकारी दिनुभयो। विद्यालयहरुमा सञ्चालित आँखा जाँच कार्यक्रममार्फत सम्बन्धित विद्यालयका शिक्षक समेतको आँखा परीक्षण तथा उपचार गरिएको थियो। त्यस्तै जिल्लाका विभिन्न १८ स्थानमा आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रममार्फत ८३३ जना पुरुष र ७०१ महिला गरी एक हजार ५२५ जनाले सेवा प्राप्त गरेका वरिष्ठ नेत्र अधिकृत गुरुङले जानकारी दिनुभयो। यसैगरी, गत आवभित्र फुङ्लिङस्थित आँखा उपचार केन्द्रसहित विभिन्न चार ठाउँमा सञ्चालित शल्यक्रियासहितको शिविरमार्फत दुई हजार २६९ जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। गुरुङका अनुसार शिविरमार्फत मोतिविन्दु भएका १९७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको छ। गएको आवमा आँखा उपचार सेवा लिएका ४० वर्षमाथिका करिव दुई हजार ४०० जनालाई पावरवाला चस्मा ९अक्षर पढ्न मिल्ने० निःशुल्क वितरण गरिएको पनि उहाँले बताउनुभयो। यस्तै आँखामा समस्या देखिएका ३६९ जना विद्यार्थीलाई पनि चस्मा निःशुल्क वितरण गरिएको आँखा उपचार केन्द्रले जनाएको छ। आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र विभिन्न स्थानीय तह तथा विद्यालयहरुको समन्वयमा आँखा जाँच कार्यक्रम सञ्चालन गरी गाउँगाउँमा सर्वसाधारणलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो। चालु नयाँ आर्थिक वर्षका लागि पनि आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिइने शाखा सभापति गुरुङको भनाइ छ। यता आँखा जाँच कार्यक्रमलाई निरन्तरता दिनेगरी विभिन्न स्थानीय तहसँग समन्वय भइरहेको शाखाका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो। उपसभापति अधिकारीका अनुसार सर्वसाधारण सेवाग्राहीलाई सेवा प्रवाह गर्नेगरी शल्यक्रियासहितको आँखा शिविर र गाउँ–गाउँमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित तह तथा निकायसँग समन्वय गर्न सुरु भएको छ।